दफा ५०
धितो लिने व्यक्तिले धितोको सम्पत्ति बेचबिखन गर्न सक्ने
(१) दायित्वको पालना नभएमा धितो लिने व्यक्तिले कुनै वा सबै धितोको सम्पत्ति बिक्री गर्न, भाडामा दिन, इजाजतमा दिन वा अन्य कुनै पनि तवरले बेचबिखन गर्न सक्नेछ । (२) धितोको सम्पत्ति एक वा एकभन्दा बढी करारअन्तर्गत सार्वजनिक वा निजीरुपमा बेचबिखन गर्न सकिनेछ । (३) यस ऐनबमोजिम धितो लिने व्यक्तिको कर्तव्यसँग अनुकुल हुने गरी धितोको सम्पत्तिको बेचबिखन कुनै पनि समय, स्थान वा शर्तमा छुट्टाछुट्टै वा समूहगतरुपमा गर्न सकिनेछ । (४) धितोको सम्पत्ति छिट्टै सड्ने, गल्ने भई वा सोको मूल्यमा तुरुन्तै गिरावट आउने प्रकृतिको भई सूचना दिन व्यावहारिक नहुने भएकोमा बाहेक धितो लिने व्यक्तिले धितो दिने व्यक्तिलाई धितोको सम्पत्ति सार्वजनिकरुपमा बिक्री गर्ने समय र स्थान वा निजीरुपमा बिक्री वा अन्य कुनै तवरले बेचबिखन गर्ने समयको मुनासिब जानकारी दिनु पर्नेछ । (५) धितो लिने व्यक्तिले धितोको सम्पत्ति कुनै सार्वजनिक वा व्यक्तिगत बिक्रीको माध्यमबाट खरिद गर्न सक्नेछ ।